कांग्रेस जिल्ला सभापतिको भेला नुवाकोटमा सुरू

नुवाकोट – कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरू भएको छ।बुधबार र बिहीबार हुने भेलाले जिल्ला सभापतिहरुका तर्फबाट विधान संशोधनको लागि साझा धारणा बनाउने छ। छलफलको प्रारम्भमा विधान मस्यौदा समितिमा रहेका ललितपुर जिल्ला सभापति मदन अमात्य र रोल्पा सभापतिले विधानमा राखिएका प्रावधानबारे जानकारी गराउने तयारीमा छन्। त्यस लगत्तै जिल्ला सभापतिहरूले आवश्यक संशोधनका लागि सुझाव पेस गर्नेछन्।

विधानका लागि सबै जिल्ला सभापतिहरूले दफावार धारणा राख्ने नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए।बुधबार सबैको धारणा सुनिसकेपछि बिहिबार आवश्यक सुझावसहित भेला सकिने उनले बताए। विधानमा सभापतिहरुका तर्फबाट समान धारणा ल्याउने बताएका उनले भने ‘गुट-उपगुट हामी चिन्दैनौं। समान धारणासहित विधान संशोधनको लागि सुझाव दिन्छौं।’विधानलाई लिएर असहमति हुने हो भने पार्टी एक भएर जान अप्ठयारो हुने तर्क उनले गरे।

केन्द्रीय समितिमा आएका फरक विचारको पनि सम्बोधन गर्ने गरी विधान संशोधन हुनुपर्ने उनले बताए। भेलामा प्रस्तावित विधानको प्रस्तावनादेखि नै छलफल हुनेछ। ककनी स्थित न्यू हिमालय गेस्ट हाउसमा आयोजित भेलामा देशभरबाट चार दर्जन सभापति भेला भएका छन्।