भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउनु ठूलो समाचार होइनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् ।

मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मोदी भ्रमणमा नआउनु ठूलो खबर नभएको बताए । उनले भने, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’

यद्यपि उनले मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको बताए । नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका हुन् ।