नेकपाको चियापान सम्पन्न

काठमाडौं । दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुक्रवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विपक्षी पार्टी नेपाली कांग्रेसका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संवैधानिक आयोगका पदाधिकारी, विभिन्न कर्मचारी र सबै राजनीतिक दलका नेतालाई निम्तो दिइएको थियो । नेकपाको चियापानमा पार्टीका कार्यकर्ता र सर्वसाधारणको उपस्थिति पनि बाक्लो थियो ।

हरेकजसो शनिवारका दिन व्यस्त रहने काठमाडौंको भृकुटीमण्डपमा यो शनिवार भने नेकपाको चियापानले खुट्टा हाल्ने ठाउँ पाउन पनि मुश्किल थियो । मध्याह्न १२ बजेदेखि शुरु भएको चियापानमा सहभागी हुनेको लाइन भृकुटीमण्डपदेखि पद्मोदय मोडसम्म पनि पुग्यो । नेकपाले चियापानमा ३५ हजारको उपस्थिति हुने अपेक्षा गरेपनि शीर्ष नेता, कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी कर्मचारी, संवैधानिक आयोगका पदाधिकारी, सर्वसाधारण र सञ्चारकर्मी समेत गरी करिब ८–१० हजार निम्तालु भृकुटीमण्डप पुगेका थिए ।

प्राय सबै पार्टीका कार्यकर्ताले नेताहरुलाई देख्नेवित्तिकै नमस्कार तथा अभिवादन टकर्याउँछन् । तर, शनिवार नेकपाको चियापानमा भने नेकपाका उच्च तहका नेताहरु नै कार्यकर्तालाई नमस्कर गरिरहेका थिए ।

भृकुटीमण्डपस्थित पार्कमा आयोजित कार्यक्रमको प्रवेश द्वारमै नेताहरु चियापानका आगुन्तकलाई स्वागत गर्न उपस्थित भएका थिए । नेकपा नेता दिनानाथ शर्मा, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का मन्त्री केशव स्थापित, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य लगायत नेताहरु आगन्तुकलाई स्वागत गर्न प्रवेश द्वारमा लाइन लागेर उपस्थित थिए ।

प्रवेशद्वारमा नेताहरुले हार्दिकताका साथ आगन्तुकको स्वागत गरिरहँदा चियापान शुरु भएको केही क्षणमै झडपको स्थिति सिर्जना हुन पुग्यो । आफूलाई नेकपाकै कार्यकर्ता बताउने एक युवाले चियापान बहिस्कार गरौं भन्ने पर्चा वितरण गरेपछि तनाव भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूहको अपील भन्दै पर्चा बाँडिएपछि नेकपाका कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । चियापानका लागि सर्वसाधारणलाई मध्याह्न १२ बजेदेखि ३ बजेसम्म र भीआइपीका लागि ३ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको थियो । तर नेकपाका कार्यकता ५ बजेसम्म आइरहेका थिए । कार्यक्रममा सहभागीमध्ये सर्वसाधारणलाई केरा, लड्डु, निम्कीसहितको खाजा सेट राखिएको थियो भने भीआइपीको लागि छुट्टै व्यवस्था थियो । भीआइपीको खाजा सेटमा स्वान्डविचसहितको खाजा सेटको व्यवस्था गरिएको थियो ।

चियापानमा उपस्थित भएकाहरु नेकपाको शीर्ष नेता को को आए भन्दै खोजिरहेका थिए । कतिपयले पछिल्लो समय असन्तुष्ट देखिएका नेता माधवकुमार नेपाल आए की आएनन् भन्दै खोजी रहेका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै बसेको फोटो खिच्न खोज्नेहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नदेख्दा कानेखुसी गरिरहेका थिए । पार्टी अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या उत्पन्न भएका कारण उनी चियापानमा उपस्थित हुन नसक्ने जानकारी महासचिव विष्णु पौडेलले पत्रकारलाई गराइरहँदा नेकपाका नेता कार्यकर्ता ओलीको प्रतिक्षामै थिए ।