खाडी मुलुक जान लागेका ४० किशोरीहरुको उद्धा

नेपालगन्ज । वैदेशिक रोजगारका लागि भारत हुँदै कुवेत तथा अन्य मुलुक जाने तयारीमा रहेका ४० नेपाली किशोरीलाई माइती इन्डिया र भारतमा रहेको नेपाली दूतावासको सहयोगमा दिल्लीबाट उद्धार गरी माइती नेपाल, नेपालगन्ज ल्याइपुर्याएको छ ।

उद्धार गरिएकाहरू सबै भारतीय बाटो हुँदै वैदेशिक रोजगारीका लागि कुवेत तथा साउदी अरब जाने योजनासाथ नेपालको विभिन्न नाका प्रयोग गरी भारतको दिल्ली पुगेका थिए ।

उनीहरूलाई पाँच जना भारतीय प्रहरी र माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेले आवश्यक प्रक्रिया पूरा गरी माइती नेपाल, नेपालगन्ज ल्याइपु¥याएका हुन् । भारतबाट गरिएको उद्धारबारे जानकारी दिँदै माइती इन्डियाका संस्थापक पाण्डेले भारतको उत्तर प्रदेश गाजियाबादको इन्द्रपुरम सेक्टरबाट तीनवटा फ्ल्याटमा दुई दिन लगाएर छापामारी ७ जना, १३ जना र १७ जना गरी ३७ जनालाई उद्धार गरिएको हो । वैदेशिक रोजगारका लागि कुवेत र साउदी अरेबिया जान हिँडेका तीन जनालाई दिल्लीको जिविरोडको कोठी नं. १५६ बाट उद्धार गरी ल्याइएको उनले बताए ।

उद्धार गरी नेपाल ल्याइएकामध्ये सबैभन्दा बढी झापाका १०, कास्की, सुनसरी कपिलवस्तु, काभ्रे, दैलेख, मोरङका २/२, पाँचथर, सिन्धुपाल्चोक, उदयपुर, काठमाडौँ कञ्चनपुर, बाँके, रुकुम, रामेछाप, दाङ, इलाम, तेह्रथुमबाट १/१ जना रहेका छन् । यसैगरी, कोठीबाट ल्याइएका २ जना सिन्धुपाल्चोक र १ जना नुवाकोटका रहेको उनले जानकारी दिए ।

‘यसपटकको उद्धार कार्य एकदमै फलदायी रह्यो,’ उनले भने, ‘वैदेशिक रोजगारमा पठाउने भारतको ठूलो एजेन्टलाई नियन्त्रणमा लिन हामी सफल भयौं ।’