दुई क्वीन्टल गाँजासहित ६ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न स्थानबाट दुई क्वीन्टल गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

मकवानपुर र धादिङका विभिन्न स्थानबाट गाँजा संकलन भारत लैजान लागेको उक्त ठूलो परिमाणकोे गाँजा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागू औषध नियन्त्रण ब्युरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जाँगासहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी–९ खरङ्गाबाट उदयपुर ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङका ५८ वर्षीय पदम हमाल ठकुरी, सिराहा धनगढि नगरपालिका–३ बस्ने ३५ वर्षका सुरेशकुमार महतो, सिराहा औरहि गाउँपालिका–२ का ४४ वर्षीय छेदी दास र मकवानपुर राक्सिराङ गाउँपालिका–१ का ४२ वर्षीय कृष्णबहादुर मोक्तानलाई ८८ किलो ७ सय २० ग्राम गाँजा (चिप्पड) सहित पक्राउ गरेको हो ।

उनीहरुले बी आर आई पी २३४५ नम्बरको भारतीय बोलेरो जिपमा फल्सबटम बनाई लुकाई उक्त गाँजा ल्याएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले बिहीबार हेटौंडा ११ बाट सिन्धुली कमलामाई नगरपालिका–१२ का ३६ वर्षीय दिनेश मगर र सिन्धुलपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ३१ वर्षीय ज्ञानबहादुर बुढासैलीलाई १ सय १५ किलो गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुले पनि ना ३ च ४७६२ नम्बरको गाडीमा फल्स सिलिङ बनाई गाँजा राखेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।