बजेट दुरुपयोग गर्नेमा मधेसी नेता नै अग्रपंक्तीमा छन्ः मन्त्री यादव

जनकपुर । स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पटक पटक मधेसको विकासका लागि आउने गरेको बजेटमाथि मधेसवादी दलहरुले अनियमिता गरेको आरोप लगाएका छन् ।

बिहीबार जनकपुर अञ्चल अस्पतालको निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले मधेसी नेताहरुकै कारण मधेस वर्वाद भएको उल्लेख गरे ।

उनले मधेसी नेताहरुले विकास बजेट हिनामिना गरेर मधेस र मधेसी जनतालाई पछाडि पारेको आरोप समेत लगाए । उनले भने, ‘मधेसमा विकासका लागि पर्याप्त बजेट आएपनि दुरुपयोग भइरहेको छ । त्यही रकम पहाडमा सदुपयोग हुन्छ ।’

नेता यादवले विकासका लागि आएको बजेटलाई मधेसी तथा अन्य दलका नेताहरु मिलेर उपभोक्ता समिति बनाउने र कमिशन खाने विकासलाई अलपत्र पार्ने परिपाटी रहेको उल्लेख गरे । उनले भने, ‘जनकपुरको विकासको लागि धेरै बजेट आयो, तर विकास भएन । पहाडमा यति नै पैसा जाँदा धेरै विकास हुन्छ ।’

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुरमा अत्यन्तै फोहर सहर भएको भन्दै उनले सरसफाईको नाममा आएको बजेटमा समेत मधेसी नेताहरुले अनियमितता गरेको आरोप लगाए । जनकपुर सफाईका लागि आएको बजेट दुरुपयोग भएको आरोप लगाउँदै उनले बजेट दुरुपयोग गर्नेमा मधेसी नेताहरु नै अग्रपंक्तिमा रहेको बताए ।