मदिराले अपराध बढायो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले अपराधको मुख्य स्रोत मदिरा र लागूऔषध रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले भृकुटीमण्डपमा आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री थापाले लागू औषधको कारोबार र अपराधको आधार मदिरा रहेको पाइएकाले यसलाई जरैबाट निर्मुल पार्ने बताए ।
‘समाजमा हत्या हिंसा जस्ता घटना बढ्नुको मुख्य कारण मदिरा र लागू औषध हो । हामी यसलाई जरै देखि उखेल्ने अभियानमा लागेका छौं,’ गृहमन्त्री थापाले भने, ‘मदिराकै कारण विद्यालय तहका बालबालिका बढी पीडित भएका छन् । यसको समाधानका लागि पनि सरकारले गृहकार्य थालेको छ ।’
समृद्ध नेपाल सुखी नेपाली स्थापनाका लागि दीगो शान्ति आवश्यक छ रहेको भन्दै गृहमन्त्री थापाले दीगो शान्ति स्थापनाका लागि पनि आइतबारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
‘नेपालमा शान्ति सुरक्षाको राम्रो व्यवस्था नभएकाले भनेजस्तो रोजगारी सिर्जना नहुँदा नेपाली युवा मुग्लान पस्नुपर्ने बाध्यता छ,’ मन्त्री थापाले भने, ‘अब हामी देशमा शान्ति सुरक्षा कायम गछौं र नेपाली युवालाई विदेश पलायन हुने अवस्था आउन दिँदैनौं । ’
त्यसैगरी गृहसचिव प्रमेकुमार राइले विकास र समृद्धिको पहिलो आधार नै शान्ति सुरक्षा रहेको बताए । समृ्द्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन सुव्यवस्था हुनुपर्ने औंल्याउँदै भने, ’प्रहरी र समुदायको सहकार्यबाट नै उक्त लक्ष्य हासिल गर्न सकिन्छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी र नागरिकबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याए । लक्ष्य हासिल गर्नका लागि जनशक्तिभन्दा पनि इच्छाशक्ति मुख्य विषय भएको बताए ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले हरेक सुखदुखमा प्रहरी आवश्यक पर्ने भएकोले आफ्नो तवरबाट सबैले सहयोग गर्नुपर्ने बताए । उनले स्थानीय तहका तर्फबाट प्रहरीलाई शान्ति र सुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभियानको अवधारणा प्रस्तुत गरका थिए । उनले अभियानको उद्देश्य अपराध रोकथाम, सामाजिक विकृति विसंगतीविरुद्ध जनचेतना फेलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहबीचमा सम्बद्ध सरोकारवालाहरुलाई समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने रहेको बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम आयतबारदेखि नेपालका ७७ वटै जिल्लामा शुरु भएको छ । गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।