यी हुन् मन्त्रिपरिषदका आजका निर्णय

काठमाडौं । नेपाल सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने भएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको एमओयुलाई स्वीकृत गरेको छ ।
हाल मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको छ । सो सम्झौता भएसँगै मलेसियामा नेपाली कामदार जाने बाटो खुल्ने छ । एमओयुमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई दिने निर्णय भएको छ ।
आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गोरखापत्र दैनिकका महाप्रबन्धक बसन्तप्रकास उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
त्यस्तै बैठकले भोलि देखि हुन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई समेत स्वीकृत गरेको छ । भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।