मिलेमतो गरी नयाँ व्याजदर कायम

असोज २६, काठमाडौं ।
वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेपछि धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्र बैंकर्स संघको बैठकबाट ब्याजदरको बिषयमा नयाँ समझदारी गरेका बैंकहरुले शुक्रबारदेखि नयाँ ब्याजदर प्रकाशित गर्न थालेका छन् ।
शुक्रबार मात्रै झण्डै दुई दर्जन वाणिज्य बैंकहरुले नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । बैंकहरुले असोज २६ गते शुक्रबारदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
बैंकर्स संघको बैठकमा साधारण बचतमा पाँच प्रतिशतभन्दा कम ब्याज नदिने तथा मुद्धती बचतमा दश प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो ।
यस्तै व्यक्तिगत मुद्धती खातामा नौ प्रतिशत र संस्थागत मुद्धती खातामा भने १० प्रतिशतसम्म व्याज दिने सहमति गरेका छन् । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन् भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन् ।
बैंकहरुले यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्धतीमा १० दशमलव ५० प्रतिशतसम्म ब्याज दिने समझदारी बैंकहरुले गरेका थिए । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैकर्स संघमा उजुरी गरेका थिए ।