प्रदेश प्रहरी ऐन पारित, यो वर्ष एक हजार भर्ना लिने तयारी

२७ असोज, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले संघीय प्रहरी ऐन बहुमतले पारित गरेको छ । नेकपाको विरोधका बावजुद बहुमतले पारित भएको हो । यससँगै प्रदेश सरकारलाई प्रदेश प्रहरी गठनको बाटो खुलेको छ ।
प्रदेश प्रहरी ऐन अध्ययन समितिका सभापति राजपाका सांसद सुरिता साहले विज्ञको सुझावलाई समेटेर तयार गरिएको विधेयक प्रदेशसभामा पेश गरेकी थिइन् ।
संविधान अनुसार नै ऐन तयार गरिएको उनले बताइन् । संविधानको धारा २६८ अनुसार प्रदेश प्रहरी संरचना तयार गरिएको र संघीय ऐनलाई कुनै पनि अवरोध नहुने उनको भनाइ छ ।
प्रदेश सरकारले प्रहरी ऐन सेवासम्बन्धी विधेयक प्रदेशसभामा असार १६ गते पेश गरेको थियोे भने २७ गते अध्ययन समिति बनाएर त्यहाँ पठाइएको थियो ।
प्रदेशले प्रहरी ऐन बनाए पनि केन्द्रले संघीय प्रहरी ऐन अझैसम्म बनाइएको छैन । यसले प्रदेश प्रहरी ऐन कार्यान्वयनमा जटिलता छ । प्रदेश प्रहरी ऐनअनुसार प्रदेश २ मा जनपद, प्राविधिक, पर्यटक प्रहरी, सामुदायिक र ट्राफिक गरी पाँच प्रकृतिका प्रहरी रहने उल्लेख छ ।