प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

रोल्पा । रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ । यसै महिनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुन्छन् विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भने ।
“शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेका छौँ,” प्राचार्य पोख्रेलले भने । शिक्षकको नियमितता हुने बित्तिकै विद्यालयको पठनपाठनमा धेरै सुधार हुन्छ । सो विद्यालयले मल्टी मिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । हाल कम्प्युटर कक्षा मल्टी मिडिया प्रयोग गरेर पढाउन शुरु गरेको कम्प्युटर शिक्षक भुवन श्रेष्ठले बताए । आगामी दिनमा अन्य विषयलाई समेत मल्टी मिडियाबाट अध्यापन गराउने बताइएको छ ।

जिल्लाका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । रोल्पा नगरपालिका–७ मा रहेको मावि कोटगाउँले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ । माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले बताएको छ । सुनिल स्मृति गाउँपालिका–४ नम्बर वडा कार्यालयले वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल थालेको वडाध्यक्ष गंज क्षेत्रीले जानकारी दिए । वडाभित्र रहेका तीन वटै सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।
विद्यालयमा शिक्षक १० बजे अगावै उपस्थित हुनुपर्नेमा त्यसो नदेखिएकाले डिजिटल हाजिरीपछि शिक्षकको उपस्थितिलाई नियमितता गर्न सघाउ पुग्ने छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले समेत गाउँपालिकाका पाँच विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गरिदिएको बताएको छ ।
जिल्लामा शिक्षाको सार्थक परिणामका लागि स्थानीय सरकारले चासो देखाएका छन् । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ । प्रशस्त मात्रामा आन्तरिक स्रोत भएका विद्यालय प्रविधिमैत्री हुन थाले पनि जिल्लाका अधिकांश विद्यालयलाई भने शिक्षक व्यवस्थापनमै हम्मेहम्मे परेको बताइन्छ । समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझैँ भएको छ ।